बालविवाहमुक्त घोषणा कि कागजी नाटक ?

तिलाठी कोइलाडी गाउँपालिकामा हालै सम्पन्न गरिएको तथाकथित बालविवाह–मुक्त वडा घोषणा ले सामाजिक परिवर्तनभन्दा बढी लज्जास्पद नाटकको झल्को दिएको छ। एउटा गैर सरकारी संस्था आएर स्थानीय तहको क्षमता, संरचना र समुदायको भूमिकालाई नै बेवास्ता गर्दै बालविवाह–मुक्त घोषणा गरिदिनु आफैँमा गम्भीर प्रश्नको विषय हो। विडम्बना के छ भने, जुन गैर सरकारी संस्था ले आजसम्म पालिकाभर एउटा पनि बालविवाह रोक्न सकेको छैन, उसैले आएर बालविवाह–मुक्त घोषणा गरेर आफ्नो कार्यक्रम प्रतिवेदन र बजेट खर्च पूरा गरेको छ। यस क्रममा स्थानीय बासिन्दालाई सचेत बनाउनेभन्दा पनि मूर्ख बनाउने काम भएको अनुभूति समुदायमा व्याप्त छ।
यस गाउँपालिकामा पूर्ण रूपमा क्रियाशील बालसञ्जाल, युवा सञ्जाल र प्रत्येक वडामा वडास्तरीय बालक्लब हुँदाहुँदै पनि तिनलाई समेट्ने, सशक्त बनाउने वा नेतृत्व दिने प्रयास कतै देखिएन। बरु स्थानीय क्षमता माथि विश्वास गर्नुभन्दा बाहिरबाट आएको गैर सरकारी संस्था को दानमा पाएको तक्मालाई बढी मूल्यवान ठानिएको देखिन्छ र सो संस्थाले ढुंगाको खिचड़ी पकाएर दिईरहेको छ भने हामीलाई खान बाध्य पारीरहेको छ। बालविवाह–मुक्त घोषणा कुनै फोटो खिच्ने कार्यक्रम होइन। यसका लागि पूर्वतयारी, समुदायगत समन्वय, स्पष्ट योजना, दीर्घकालीन रणनीति र सामाजिक अपनत्व अनिवार्य हुन्छ। तर यहाँ प्रश्न उठ्छ, यी कुरा के आयोजक पालिकालाई थाहा छैन ? कि गैर सरकारी संस्था लाई ? वा दुवैलाई ?
स्थानीयलाई जानकारी नै नदिई, १५–२० जनाको सीमित उपस्थितिमा “बालबालिकाको भविष्य सुधारका लागि”
भनेर गरिएको भाषणबाजी व्यंग्य जस्तै देखिन्छ। सबैभन्दा संवेदनशील र पीडादायक पक्ष त के छ भने, जनप्रतिनिधिको बुवा देहान्त भएको र पूरा पालिका शोकको अवस्थामा रहदा समेत कार्यक्रम भने रोकिएन। छेउको वडामा टेन्ट टाँगियो, बाजा बजाइयो, उत्सव मनाइयो। यसले देखाउँछ की यो घोषणा समुदाय, वडा वा पालिकाको भविष्यसँग होइन, केवल कार्यक्रम सकियो भन्ने टिक लगाउनसँग मात्र सरोकार राख्छ। वास्तविकता के हो भने, उक्त गैर सरकारी संस्था लाई न त त्यो समुदायको वर्तमान अवस्थासँग मतलब छ, न भविष्यसँग। जनप्रतिनिधि नै बिते पनि कार्यक्रम रोकिन्न भन्ने मानसिकताले प्रमाणित गर्छ की यो घोषणा इन्द्रेको बाउ चन्द्रे आए पनि नरोकिने प्रतिवेदनमुखी अभियान मात्र हो। अझ शंकास्पद कुरा त के भने, वर्ष भरी चहलपहल नरहेको डिसेम्बर सकिन लाग्दा प्रतिवेदन पठाउनुपर्ने हतारमा एकैदिन ३–३ वटा वडा घोषणा गरिएको छ। कतै एउटा वडाको घोषणा अर्को वडामा, कतै एउटै स्थानमा दुई-दुईवटा वडा घोषणा…. यो हतार र अव्यवस्थाले घोषणाको गम्भीरतामाथि गहिरो प्रश्न उठाएको छ।

दुखद कुरा के छ भने, स्थानीय युवाहरूले समाज सुधारका लागि उठाएका आवाजहरू पालिकाका कानसम्म पुग्दैनन्। तर बाहिरबाट आएको संस्थाको भत्ता सहितको एक शब्द एक निबन्ध जसरी दुबै कानले सुन्ने गरिन्छ। सामाजिक कुप्रथा अन्त्यका लागि आफ्नै प्रखर युवा जनशक्तिको साथभन्दा पनि दानमा आएको प्रशंसा र फोटो फ्रेम बढी प्रिय देखिन्छ।
आज यसरी धमाधम कामचलाउ घोषणा गर्दै गर्दा “मेरो पालामा बालविवाह मुक्त घोषणा भयो” भन्ने एउटा वाक्य भाषणमा जोडिन सक्छ। तर भोलि यदि फेरि बालविवाह भयो भनेमुख कालो कसको हुन्छ ?
गैर सरकारी संस्था को ?
आयोजक पालिकाको ?
कि फेरि पनि समुदायकै ?

-त्रिवेणी कुमार यादव, सामाजिक अभियन्ता

Share this to:

Leave a Comment

Your email address will not be published. Required fields are marked *