हाम्रो समाज आफूलाई प्रगतिशील, चेतनशील र परिवर्तनमुखी ठान्छ। संविधान फेरियो, व्यवस्था बद्लियो, सरकार आयो–गयो, तर समाजको आत्मा साँच्चै बदलियो कि बदलिएको नाटक मात्रै गर्यो ? जब यो प्रश्न गरिन्छ, तब चार जना पात्र अनिवार्य रूपमा अगाडि आउँछन् : झोले, भोले, टोले र गोले। यी चारै जना बिना हाम्रो राजनीति, समाज र चिया गफ अधुरो नै देखिन्छ।
झोले भन्नासाथ एउटा झोला सम्झनु गलत हुँदैन, किनकि उसको सोच, विवेक र आत्मसम्मान सबै त्यही झोलाभित्र बन्द हुन्छ। नेताले जे भन्यो, त्यही उसको विचार हो। ‘किन ?’ भन्ने प्रश्न उसले कहिल्यै सिकेन, किनकि प्रश्न गर्नु मेहनत हो, र मेहनत झोलेको स्वभाव होइन। ऊ अरूलाई झोले भन्न सधैं अग्रपंक्तिमा हुन्छ, तर ऐनामा हेर्ने बानीचाहिँ छैन। मौका आयो कि चौका हान्ने कला उसले जन्मजात सिकेको हुन्छ। मौसम बदलिएझैं रंग बदल्नु झोलेको राजनीतिक दर्शन हो। पार्टी बदल्नु उसले विश्वासघात ठान्दैन, बरु “समय अनुसार चल्नु” भनेर गर्व गर्छ।
भोले झोलेको छायाँ हो : नजिकै, तर सोचविहीन। खायो, पियो, घुम्यो र नशामा मग्न रह्यो भने उसलाई जीवन सफल लागेको हुन्छ। जता हिड भन्यो, त्यतै ऊ बिना कुनै लक्ष्य हिँड्छ, मानौं उसको जीपीएसमा ‘सोच’ भन्ने सिस्टम नै छैन। परिवार, समाज र परिस्थितिसँग उसले खासै सम्बन्ध राख्दैन, किनकि सम्बन्ध राख्न चेतना चाहिन्छ, र चेतना भोलेको विलासिताभन्दा बाहिरको कुरा हो। चुनाव आयो भने भोलेको आँखा घोषणापत्रमा होइन, मासु–भात, दारु र गाडीको व्यवस्थामा हुन्छ। उसलाई लोकतन्त्र भनेको त्यही हो, आज मज्जा, भोलि जसले जिते पनि के फरक ?

टोले भनेको टोलभित्रको राजा हो। आफ्नै गल्लीमा उसको भौकाल यस्तो हुन्छ कि कुकुर पनि अनुमति लिएर भुक्छ। तर त्यो भौकाल टोलको बोर्डर नाघ्नासाथ फुस्स हुन्छ। बाहिर गएपछि ऊ लम्पसार पर्छ, लुथ्रुक्क हुन्छ। स्थानीय झोले र भोलेलाई चलाउने नाइके टोले नै हो। टोल–टोलमा पाइने यो प्राणीले आफूलाई समाज सुधारक ठान्छ, तर सुधार सधैं आफ्नै घरको भित्ताभित्र सीमित हुन्छ। चुनावी मौसममा टोले सबैभन्दा व्यस्त देखिन्छ : टिकट कसलाई दिने, कसको पोस्टर च्यात्ने, कसको भेला बिगार्ने, कसलाई धम्क्याउने, यी सबै निर्णय टोलमै हुन्छन्। ऊ आफूलाई स्थानीय नेता ठान्छ, तर टोल बाहिर उसको परिचय “उनी हाम्रो टोले” मै सीमित रहन्छ। चुनाव जितेपछि विकास ल्याउने वाचा गर्छ, तर जितेपछि फोन उठाउनसमेत भ्याउँदैन।
अब आउँछ गोले : सबैभन्दा गोल पात्र। सुरुदेखि उफ्रिन्छ, मानौं परीक्षाको टपर यही हो। तर परिणाम आउने बेलामा गायब हुन्छ। जहाँसुकै अटाउने अद्भुत क्षमता उसमा हुन्छ। हरेक विषयको ज्ञाता बन्न खोज्छ, तर अध्ययन शून्य। पढाइ गोल, चरित्र गोल, व्यवहार गोल, अनुशासन त झन् पूर्ण गोल। सामाजिक सञ्जालमा ऊ सबैभन्दा ठूलो विश्लेषक हो। सरकार ढलाउनेदेखि देश बनाउनेसम्मका योजना उसले स्टाटसमा बनाइसकेको हुन्छ, तर मतदान केन्द्रमा भने उसलाई कहिल्यै लाइनमा देखिँदैन। चुनावपछि हारको दोष सधैं जनतालाई दिन्छ “जनता नै अयोग्य भए” भनेर।
नेपालको राजनीति अहिले फेरि चुनावी तयारीमा छ। नेताहरू भाषण तताउँदै छन्, घोषणापत्र छापिँदै छन्, नारा फेरिँदै छन्, र समाज फेरि एकपटक झोले, भोले, टोले र गोलेको सक्रिय प्रयोगशाला बन्दैछ। व्यवस्था फेरियो, संविधान आयो, संघीयता आयो, तर व्यवहार अझै पुरानै देखिन्छ। झोले आज पनि पार्टी झन्डाभन्दा ठूलो सोच्न सक्दैन। नेताले बोलेको वाक्य ऊ फेसबुक स्टाटस बनाउँछ, गलत भए पनि ताली बजाउँछ। भ्रष्टाचारको खबर आयो भने झोले तुरुन्तै “मिडियाको षड्यन्त्र” घोषणा गर्छ। आगामी चुनावमा उसले उम्मेदवारको योग्यता होइन, झोला कति भरिएको छ भन्ने हेरेर भोट हाल्ने तयारी गरिसकेको हुन्छ।
यी चारै पात्र फरक–फरक देखिए पनि अन्ततः एउटै समाजको उत्पादन हुन्। कहिले झोले भोले बन्छ, कहिले भोले गोले, त कहिले टोले सबैलाई चलाउँछ। हामी यिनलाई हाँसोको विषय बनाउँछौं, तर गहिरिएर हेर्दा डर लाग्दो प्रश्न उब्जिन्छ, कुनै कुनामा हामी आफैं त यीमध्ये कुनै पात्र होइनौं ? आगामी चुनावले फेरि एउटा गम्भीर प्रश्न सोध्दैछ, हामी साँच्चै परिवर्तन चाहन्छौं कि पात्र मात्रै बदल्न ? चेतनशील नागरिक बन्ने कि फेरि झोले, भोले, टोले र गोलेकै भूमिकामा रमाउने ? जबसम्म मतदाता आत्मपरीक्षण गर्दैन, तबसम्म नेपालको राजनीति उही व्यंग्यकै कथामा घुमिरहनेछ, र चिया गफको विषय बदलिनेछ, तर कथा उही रहनेछ।
समाज सुधारको पहिलो कदम भाषण होइन, आत्मबोध हो। नत्र झोले, भोले, टोले र गोले पुस्तान्तरण हुँदै जानेछन् र हामी हाँस्दै, गफिँदै, भविष्य गुमाइरहनेछौं।
-त्रिवेणी कुमार यादव
सप्तरी
२०८२/०९/२७

