देशको राजनीति कहिलेकाहीँ यस्तो लाग्छ, ढोका पुरै खुला छ, हात्ती सजिलै भित्र पस्यो, तर पुच्छर भने ढोकामै अड्किएको छ। भित्र पुगिसकेको शक्ति छ, बाहिर देखिने आशा छ, तर अन्तिम एक कदम नपुग्दा सबै कुरा अधुरो झैँ देखिन्छ।
जनताले परिवर्तनको नाममा नयाँ–नयाँ अनुहारलाई मौका दिए। पुराना दलहरूलाई पाठ सिकाउन खोजे, नयाँलाई जिम्मेवारी सम्झाए। परिणामस्वरूप संसदमा अंकगणित रोचक बन्यो, कोही धेरै ठूलो, कोही मध्यम, कोही सानो तर निर्णायक। तर कहिलेकाहीँ यस्तो लाग्छ, हामीले परिवर्तनको ढोका त खोलेका छौँ, तर परिवर्तन आफैँ ढोकामै उभिएको छ, पुच्छर चेपीएर !
एकातिर पुराना दलहरू छन् , जो वर्षौँदेखि सत्ता र समिकरणकै खेलमा अभ्यस्त छन्। उनीहरूलाई लाग्छ, राजनीति भनेको संख्या मिलाउने कला हो।
अर्कोतिर नयाँ शक्तिहरू छन्, जो परिवर्तनको आवाज बोकेर आएका छन्, तर संख्या र समीकरणको गणितले उनीहरूलाई पनि अलमल्याइरहेको छ।
यहीँ एउटा रोचक दृश्य पनि देखिन्छ। कहिलेकाहीँ नयाँ हात्तीलाई अगाडि बढ्न पुराना बूढा हात्तीहरूको सहारा चाहिन्छ – कहिले विचारधाराको नाममा, कहिले फरक विचारधारासँगै उभिएर। जसलाई हिजो विरोध गरिन्थ्यो, आज उसैको काँध समातेर ढोका पार गर्ने प्रयास हुन्छ। राजनीति यस्तो ठाउँ बनेको छ जहाँ विचारधारा पनि कहिलेकाहीँ लठ्ठी जस्तै प्रयोग हुन्छ , जसले जहाँ सहारा दिन्छ, त्यतै समातिन्छ।
जनताको मनमा प्रश्न छ:
के हामीले परिवर्तन चाहेका थियौँ, कि फेरि उही पुरानो नाटकको नयाँ अंक?
कहिलेकाहीँ संसदको दृश्य यस्तो लाग्छ, सबैलाई थाहा छ कि देशलाई अगाडि बढाउन ठोस निर्णय चाहिन्छ, तर निर्णयको ढोका खोल्न कसैले अन्तिम धक्का दिन सकेको छैन।
हात्ती त छिरिसक्यो, तर पुच्छर अझै अड्किएको छ।
राजनीति भनेको केवल संख्या होइन, भरोसा पनि हो।
संख्या पुगेर पनि निर्णय नहुने हो भने, त्यो हात्ती भित्र पुगेको जस्तो मात्र हो.. यात्रा अझै सुरु नै भएको हुँदैन।
त्यसैले अब जनताको चाहना स्पष्ट छ :
“हात्ती आयो, हात्ती आयो” भनेर अन्त्यमा फुस्सा नहोस्।
परिवर्तनको नाममा सुरु भएको यात्रा, वास्तवमै परिवर्तनमै टुंगिनुपर्छ।

सायद अब प्रश्न दलहरूको होइन, संस्कारको हो।
परिवर्तन केवल नारा होइन, साहस पनि चाहिन्छ।
नत्र फेरि अर्को चुनावमा जनताले भन्न सक्छन्—
“हात्ती छिर्यो, तर पुच्छर अझै अड्किएको नै छ।”
-त्रिवेणी कुमार यादव, सामाजिक अभियन्ता

